चौतारा । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सोमबार जिल्लास्थित सञ्चारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि तय गरिएका स्वास्थ्यसम्बन्धी कार्यक्रम, हालसम्मका उपलब्धि तथा कार्यान्वयन अवस्थाबारे जानकारी आदान–प्रदान गर्ने उद्देश्यले उक्त छलफल आयोजना गरिएको हो। कार्यक्रममा जिल्लामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा बागमती प्रदेश सरकारको प्रमुख स्वास्थ्य अभियानअन्तर्गत ‘एक जिल्ला–एक स्वास्थ्य सहर’ निर्माण गर्ने लक्ष्य आगामी आर्थिक वर्षभित्र पूरा गर्ने योजना रहेको जानकारी दिइयो। त्यस्तै, ‘एक स्थानीय तह–एक नमुना स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये पाँचपोखरी थाङपाल गाउँपालिकामा कार्यक्रम प्रारम्भ भइसकेको र बाँकी स्थानीय तहमा पनि क्रमशः विस्तार गर्दै आगामी वर्षभित्र पूर्ण कार्यान्वयन गर्ने लक्ष्य रहेको जनाइएको छ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगाईले कार्यालयका हालका गतिविधि, प्रगति, सामना गर्नुपरेका चुनौती तथा आगामी योजनाबारे सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।
त्यस्तै, जनस्वास्थ्य अधिकृत बबिता श्रेष्ठले कार्यालयले एक वर्षको अवधिमा सम्पन्न गरेका प्रमुख कार्यहरू र आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित स्वास्थ्य कार्यक्रमहरूको समग्र रूपरेखा समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभयो।
छलफलका क्रममा नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाका उपाध्यक्ष दीपक अर्यालले जनस्वास्थ्य कार्यालयले गरेका सकारात्मक प्रयासहरूको प्रशंसा गर्दै जिल्लाको स्वास्थ्य क्षेत्रमा अझै रहेका समस्या समाधानतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो। साथै, पत्रकार र स्वास्थ्य कार्यालयबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रमको सञ्चालन जनस्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर देवराज सुवेदीले गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका सक्रिय सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.