२४ असार २०८३, बुधवार

आयोजना प्रभावित क्षेत्रमा इलेक्ट्रो पावर कम्पनीद्वारा फलफूलका बिरुवा वितरण


सिन्धुपाल्चोक ।  यहाँ निर्माणाधीन भोटेकोसी–१ जलविद्युत आयोजना (४४ मेगावाट) प्रवर्द्धन गरिरहेको इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित बस्तीका स्थानीयवासीलाई फलफूलका बिरुवा वितरण गरेको छ। कम्पनीले गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समिति, फुल्पिङकट्टीसँग सहकार्य गर्दै विभिन्न प्रजातिका कुल २ हजार बिरुवा स्थानीय समुदायलाई उपलब्ध गराएको हो ।

वितरण गरिएका बिरुवामा सुन्तला, टिमुर, एभोकाडो र आरू समावेश छन्। यी बिरुवा हिन्दी, पन्थली, सुनखानी तथा फुल्पिङकट्टीका बासिन्दालाई प्रदान गरिएको कम्पनीले जनाएको छ। गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समिति भोटेकोसी–४ फुल्पिङकट्टीका सचिव साङ्दोर्जे शेर्पा (सागर) का अनुसार वातावरण संरक्षणसँगै स्थानीयको आयआर्जन बढाउने, स्वास्थ्य प्रवर्द्धन गर्ने तथा हरियाली विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमका क्रममा इलेक्ट्रो पावर कम्पनीका जनसम्पर्क अधिकृत निर्मल राउतले आयोजना सञ्चालनसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्न कम्पनी प्रतिबद्ध रहेको बताए। उनका अनुसार स्थानीय समुदायको जीवनस्तर उकास्ने तथा वातावरणीय सन्तुलन कायम राख्ने खालका कार्यक्रमलाई कम्पनीले आगामी दिनमा पनि निरन्तर अघि बढाउनेछ।

बिरुवा वितरण कार्यक्रम गौरीशंकर संरक्षण क्षेत्र इलाका संरक्षण कार्यालयका रेन्जर आदित्य के.सी.को विशेष उपस्थितिमा भएको थियो। यस किसिमका अभियानले वातावरण संरक्षणमा योगदान पुर्‍याउनुका साथै भविष्यमा स्थानीयवासीका लागि अतिरिक्त आम्दानीको स्रोत सिर्जना गर्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.