सिन्धुपाल्चोक । यहाँको बलेफी गाउँपालिका–४ ले कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि तथा किसानहरूको श्रम र उत्पादन लागत घटाउने उद्देश्यका साथ मिनी टिलर (ट्याक्टर) वितरण कार्यक्रम सम्पन्न गरेको छ। वडाको सीमित बजेटका कारण यस चरणमा सबै कृषकलाई समेट्न नसकिए पनि आगामी कार्यक्रमहरूमा थप कृषकलाई समेट्ने योजना रहेको वडा कार्यालयले जनाएको छ। कार्यक्रममार्फत वितरण गरिएका मिनी टिलरको प्रभावकारी उपयोग सुनिश्चित गर्न विशेष सर्तसमेत राखिएको हो ।
वडा अध्यक्ष सूर्यबहादुर तामाङले मिनी टिलर प्राप्त गर्ने सबै कृषकले ट्याक्टर सञ्चालन गर्न जान्नुपर्ने र प्रत्येक ट्याक्टरधनीले आफ्नै खेतबारीसँगै कम्तीमा पाँच घरपरिवारको खेती जोत्न सहयोग गर्नुपर्ने जिम्मेवारी दिइएको जानकारी दिए। उनका अनुसार विगतमा विभिन्न स्थानमा वितरण गरिएका कृषि उपकरणको पर्याप्त सदुपयोग नभएको पाइएकाले यसपटक जिम्मेवारीसहित वितरण गरिएको हो।
उनले कृषि यान्त्रीकरणलाई प्रभावकारी बनाउँदै गाउँमा उत्पादन वृद्धि, समयको बचत र खेतीपातीलाई सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए। वडा कार्यालयले वितरण गरिएका मिनी टिलरको नियमित अनुगमनसमेत गर्ने जनाएको छ।
"समृद्ध किसान, समृद्ध गाउँ" भन्ने नारालाई व्यवहारमा उतार्ने लक्ष्यसहित सञ्चालन गरिएको यस कार्यक्रमबाट स्थानीय कृषक उत्साहित भएका छन्। प्रभावकारी रूपमा उपकरणको उपयोग भएमा कृषि उत्पादन बढ्नुका साथै सामुदायिक सहकार्यको संस्कृतिसमेत मजबुत हुने अपेक्षा गरिएको छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.