२६ असार २०८३, शुक्रवार

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा

पोखरा ।  पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन आगामी भदौ २० र २१ गते आयोजना हुने भएको छ। बिहीबार बसेको संघको कार्यसमिति बैठकले महाधिवेशनको मिति तय गरेसँगै नयाँ नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ भने चुनावी गतिविधि पनि तीव्र बन्न थालेको छ।

यही क्रममा संघकी वर्तमान महासचिव शोभा गौतम ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। संघभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै उपसमिति, कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिवसम्मको अनुभव हासिल गरेकी गौतमले संस्थाको प्रभावकारी नेतृत्व, व्यवसायीको हित संरक्षण तथा संघको संस्थागत सुदृढीकरणलाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएकी छन्।

उम्मेदवारी सार्वजनिक गर्दै गौतमले नेतृत्व पदका लागि नभई परिणाममुखी कामका लागि आवश्यक हुने बताइन्। उनले आफूले सधैँ जिम्मेवारीलाई सेवाको माध्यमका रूपमा ग्रहण गर्दै इमानदारी, निष्ठा र समर्पणका साथ काम गर्दै आएको उल्लेख गरिन्। उनका अनुसार नेतृत्वको मूल्याङ्कन पदले होइन, कार्यसम्पादनले निर्धारण गर्छ।

संघको लामो इतिहासमा अहिलेसम्म कुनै महिलाले अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर नपाएको उल्लेख गर्दै गौतमले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि परिवर्तन र समावेशी नेतृत्वतर्फको प्रयासका रूपमा व्याख्या गरिन्। उद्योगी–व्यवसायी परिवारकै सदस्यका रूपमा आफूले सबैको विश्वासलाई अझ ठूलो जिम्मेवारीका साथ पूरा गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

गौतमले पारदर्शिता, सुशासन, उत्तरदायित्व र सहकार्यलाई आफ्नो नेतृत्वको मूल आधार बनाउने बताउँदै सबै पक्षलाई समेटेर अघि बढ्ने योजना रहेको जानकारी दिइन्। उनले व्यवसायीको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति मान्दै बलियो संस्था र समृद्ध व्यवसायिक वातावरण निर्माणका लागि साझा प्रयास आवश्यक रहेको धारणा राखिन्।

उनले निकट भविष्यमा सक्षम, समावेशी र प्रतिबद्ध टोलीसहित उद्योगी–व्यवसायीसमक्ष औपचारिक रूपमा उपस्थित हुँदै आफ्नो नेतृत्वको साझा दृष्टिकोण, प्राथमिकता तथा आगामी कार्ययोजना सार्वजनिक गर्ने तयारी रहेको पनि बताइन्।

पोखराको निजी क्षेत्रको अग्रणी र प्रतिष्ठित संस्थाका रूपमा परिचित पोखरा उद्योग वाणिज्य संघको आगामी महाधिवेशनलाई व्यवसायिक समुदायले विशेष चासोका साथ हेरिरहेको छ। अध्यक्ष पदमा शोभा गौतमको उम्मेदवारी घोषणाले महाधिवेशनको चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएको छ।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.