२ साउन २०८३, शनिवार

'मास्टर्नी' चलचित्रको प्रचार सामग्रीप्रति नेपाल शिक्षक संघ बागमती प्रदेशको आपत्ति

काठमाडौं। सार्वजनिक प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र 'मास्टर्नी' को प्रचारप्रसारका क्रममा सार्वजनिक गरिएका गीत, संवाद तथा दृश्य सामग्रीप्रति नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिले गम्भीर असन्तुष्टि व्यक्त गर्दै आपत्तिजनक सामग्री तत्काल हटाउन माग गरेको छ।

संघले शनिबार जारी गरेको विज्ञप्तिमा चलचित्रको प्रचारका क्रममा सार्वजनिक गरिएका केही गीत, संवाद तथा दृश्यहरूमा शिक्षक तथा शिक्षण पेशाप्रति अपमानजनक, असम्मानजनक र सामाजिक प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्तिहरू समावेश गरिएको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा शिक्षक राष्ट्र निर्माणका प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्दै समाजमा ज्ञान, नैतिकता, अनुशासन, संस्कार र चेतनाको विकासमा शिक्षकको भूमिका अतुलनीय रहेको बताइएको छ। यस्तो गरिमामय पेशाप्रति अपमानजनक अभिव्यक्ति, प्रस्तुति वा सामग्री स्वीकार्य हुन नसक्ने संघको स्पष्ट धारणा छ।

संघका अनुसार विशेषगरी महिला शिक्षकलाई लक्षित गरी प्रस्तुत गरिएका अपमानजनक, विभेदपूर्ण तथा अशोभनीय संवाद र दृश्यहरूले सम्पूर्ण शिक्षक समुदायको आत्मसम्मानमा गम्भीर चोट पुगेको छ। यस्ता सामग्रीले शिक्षण पेशाप्रतिको सामाजिक सम्मानमा नकारात्मक प्रभाव पार्ने भएकाले सम्बन्धित पक्षले यसको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

नेपाल शिक्षक संघ बागमती प्रदेशले चलचित्रका निर्माता, निर्देशक, कलाकार तथा प्रचारप्रसारमा संलग्न सबै पक्षलाई प्रचार सामग्रीको तत्काल पुनरावलोकन गरी शिक्षक समुदायको भावनामा चोट पुर्‍याउने दृश्य, अशोभनीय सुनिने संवाद तथा शब्दहरू हटाउन, शिक्षक समुदायसँग सार्वजनिक रूपमा क्षमायाचना गर्न तथा भविष्यमा यस्ता सामग्री पुनः नदोहोरिने स्पष्ट प्रतिबद्धता जनाउन आग्रह गरेको छ।

संघले सिर्जनात्मक स्वतन्त्रताको सम्मान लोकतान्त्रिक समाजको महत्वपूर्ण पक्ष भए पनि त्यसको प्रयोग कुनै पनि पेशा, समुदाय वा व्यक्तिको गरिमा र सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउने माध्यम बन्न नहुने स्पष्ट गरेको छ। कला र अभिव्यक्तिको स्वतन्त्रता जिम्मेवारी र सामाजिक उत्तरदायित्वसँग जोडिनुपर्ने संघको भनाइ छ।

विज्ञप्तिमा सम्बन्धित पक्षबाट आवश्यक सुधार तथा जिम्मेवारीपूर्ण कदम चाल्न बेवास्ता गरिए शिक्षक समुदायको सम्मान र पेशागत मर्यादाको संरक्षणका लागि नेपाल शिक्षक संघ बागमती प्रदेशले दबाबमूलक आन्दोलनका कार्यक्रम सञ्चालन गर्नुका साथै कानुनी उपचारको बाटोसमेत अवलम्बन गर्न बाध्य हुने चेतावनी दिइएको छ।

नेपाल शिक्षक संघ बागमती प्रदेशले नेपाल सरकार, सम्पूर्ण शिक्षक समुदाय, अभिभावक, सञ्चारमाध्यम तथा सरोकारवाला निकायहरूलाई शिक्षण पेशाको गरिमा, सामाजिक प्रतिष्ठा र शिक्षकको सम्मानको संरक्षणमा ऐक्यबद्धता जनाई सहयोग गर्न हार्दिक अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.