काठमाडौं । संचार जगतको नियामक निकाय प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको तथा सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालले जारी गरेको प्रेस विज्ञप्तिमा श्रेष्ठलाई बुधबार राति पक्राउ गरी निजी निवासमा खानतलासी गरिएको र बिहीबार बिहान सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको उल्लेख छ। काउन्सिलले कुनै सञ्चारमाध्यम वा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेमा प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ। प्रेस काउन्सिल ऐन, २०४८ तथा पत्रकार आचारसंहिताअनुसार काउन्सिलले पत्रकार र सञ्चारमाध्यमविरुद्ध परेका उजुरीमाथि छानबिन तथा आवश्यक कारबाही गर्दै आएको जनाएको छ।
विज्ञप्तिमा काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमविरुद्ध परेका उजुरीमा आवश्यकताअनुसार दुवै पक्षलाई बोलाएर संवाद र मेलमिलाप गराउने तथा स्वअनुगमन गर्ने गरेको उल्लेख छ। आचारसंहिता उल्लङ्घन भएको अवस्थामा खण्डन प्रकाशन वा प्रसारण, भुलसुधार तथा क्षमायाचना गर्न निर्देशन दिने, ध्यानाकर्षण वा सचेत गराउनेलगायतका कारबाही गर्न सकिने काउन्सिलले जनाएको छ।
त्यस्तै, आचारसंहिता उल्लङ्घनको प्रकृति र गम्भीरताअनुसार पत्रपत्रिका मूल्याङ्कन तथा वर्गीकरण प्रक्रियाबाट अलग गर्ने, लोककल्याणकारी विज्ञापनलगायतका सुविधाबाट वञ्चित गर्ने वा सूचीकरणबाट हटाउने, प्रेस प्रतिनिधि प्रमाणपत्र वा प्रेस पास निलम्बनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने तथा सरकारी विज्ञापन वा सुविधा निश्चित अवधिका लागि उपलब्ध नगराउन सिफारिस गर्न सक्ने व्यवस्था रहेको काउन्सिलले स्पष्ट पारेको छ।
गम्भीर रूपमा आचारसंहिता उल्लङ्घन गर्ने पत्रकार तथा सञ्चारमाध्यममाथि थप कारबाहीका लागि नेपाल पत्रकार महासङ्घ र सम्बन्धित सञ्चार संस्थामा सिफारिस गर्न सकिने पनि काउन्सिलले जनाएको छ। काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने सञ्चारमाध्यम तथा पत्रकारप्रति खेद प्रकट गर्ने, अवज्ञाकारी वा कालोसूचीमा राख्ने तथा पटक–पटक गरिएको कारबाहीको विवरण सार्वजनिक गर्न सकिने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादा कायम राख्नु सबैको साझा दायित्व भएको जनाएको छ। नागरिकको सूचनाको हक प्रेस स्वतन्त्रतासँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै काउन्सिलले प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्नेमा जोड दिएको छ।
साथै, प्रेस स्वतन्त्रताको नाममा स्वच्छन्दता हुन नदिन पत्रकार तथा सञ्चारकर्मी पनि सचेत हुनुपर्ने काउन्सिलको भनाइ छ। सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिताको माध्यमबाट पत्रकारितालाई उच्च पेसागत मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहित अघि बढाउनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ।
काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर पत्रकार तथा सञ्चारमाध्यमको अनुगमन गर्दै आएको उल्लेख गर्दै कुनै समाचार वा सामग्रीप्रति चित्त नबुझेमा सम्बन्धित सरोकारवालाले काउन्सिलमा उजुरी दिन आग्रह गरेको छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.