सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण रसुवा, नुवाकोट तथा धादिङका नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रतियहाँको सुनकोशी गाउँपालिकाले दुःख व्यक्त गर्दै विपद्बाट प्रभावित तथा बेपत्ता नागरिकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले भाद्र १० गते भएको विपद्मा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाइ एकलाख ७५ हजारको दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय सहित परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, विपद्मा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत वितरण र सुरक्षित पुनःस्थापनालाई प्राथमिकतामा राखेर गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाएको छ। गाउँपालिकाका आफ्नै केही नागरिक कामको सिलसिलामा बाढी प्रभावित रसुवा क्षेत्रमा रहेको र उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको भन्दै गाउँपालिकाले चिन्ता व्यक्त गरेको छ। गाउँकार्यपालिकाको २०८३ भदौ १५ गतेको निर्णयअनुसार गाउँपालिका क्षेत्रभित्रका बेपत्ता वा मृतक व्यक्तिका परिवारलाई गाउँपालिकाको विपद् कोषबाट प्रतिव्यक्ति १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइने भनेको छ। गाउँपालिकाका अनुसार उक्त रकम पीडित परिवारलाई तत्कालीन राहत तथा सहयोगका रूपमा प्रदान गरिनेछ।
यसैगरी, विपद्का कारण प्रभावित परिवारका बालबालिकालाई सुनकोशी गाउँपालिका क्षेत्रभित्र स्नातक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णयसमेत गरिएको छ। गाउँपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग र समन्वय गर्न सबै सरोकारवाला निकाय तथा नागरिकलाई आग्रह गरेको छ। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको जीवनरक्षा, राहत र पुनःस्थापनाका लागि गाउँपालिका आफ्नो तर्फबाट आवश्यक सबै पहल गर्न प्रतिबद्ध रहेको जनाएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.