काठमाडौं । नरमाया प्रकाशन गृहको आयोजनामा ‘क्षमता अभिवृद्धि र अबको अभियान’ विषयक विशेष छलफल कार्यक्रम भएको छ । यहि भाद्र १८ गते मकालु ग्रुप अफ कम्पनीको सभाकक्षमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका बौद्धिक व्यक्तित्व, युवा तथा प्रशासकहरूको सहभागितामा उक्त छलफल भएको हो ।
कार्यक्रममा देशमा बढ्दै गएको युवा पलायन, भ्रष्टाचार र त्यसका परिणाम, नवप्रवर्तनको उपयोग, धार्मिक आस्था र विज्ञानबीचको सम्भावित समन्वय तथा राष्ट्र निर्माणमा युवाको सहकार्य लगायतका विषयमा गहन संवाद तथा छलफल गरिएको बताइएको छ ।
छलफलका क्रममा पछिल्लो समय ठूलो संख्यामा युवाहरू विदेश पलायन भइरहेकाले यसको दीर्घकालीन असरबारे चिन्ता व्यक्त गर्दै स्वदेशमै रोजगारी, उद्यमशीलता र अवसर सिर्जना गर्नुपर्नेमा बिषय केन्द्रित भएको थियो । सहभागीहरुल्र युवाको ऊर्जा, ज्ञान, सीप र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने प्रभावकारी अभियान आवश्यक रहेको बताएका छन् ।
त्यस्तै, देशमा बढ्दै गएको भ्रष्टाचारले राज्यका संरचना, विकास प्रक्रिया र नागरिकको विश्वासमा पारिरहेको असरका विषयमा समेत छलफल भएको थियो। छलफल उपस्थितभएकाहरुले भ्रष्टाचार नियन्त्रणका लागि कानुनी तथा संस्थागत सुधारसँगै नागरिकस्तरबाट पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा नवप्रवर्तन तथा प्रविधिको अधिकतम उपयोग गर्दै देशको विकास प्रक्रियालाई नयाँ दिशामा अघि बढाउने, साथै धार्मिक ज्ञान, संस्कार र आधुनिक विज्ञानबीच सकारात्मक समन्वय कायम गर्न सकिने सम्भावनाबारे पनि विचार–विमर्श भएको छ ।
छलफलमा पछिल्लो समय देश प्राकृतिक प्रकोपका कारण गम्भीर संकटमा परेको अवस्थाप्रति समेत विशेष चिन्ता व्यक्त गर्दै प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौं नागरिक प्रभावित भएको, करिब ५ हजार नागरिक अझै बेपत्ता रहेको तथा पशुचौपायामा भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको यो विपत्तिबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि ठूलो आर्थिक लगानी आवश्यक पर्ने भएकाले राज्यसँगै नागरिक समाज, निजी क्षेत्र, युवा र बौद्धिक समुदायले पनि आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिइएको थियो।
यस्तो संकटको अवस्थामा ‘क्षमता अभिवृद्धि र अबको अभियान’ मार्फत पीडित नागरिकलाई कसरी साथ र सहयोग पुर्याउन सकिन्छ तथा राष्ट्र पुनर्निर्माणमा अभियानलाई कसरी प्रभावकारी रूपमा परिचालन गर्न सकिन्छ भन्ने विषयमा समेत व्यापक छलफल भएको थियो।
सो छलफल कार्यक्रममा डा. दयाराम श्रेष्ठ, डा. विदुर वस्ती, डा. नरेश रिमाल, इन्जिनियर रामशरण सापकोटा, औरस अधिकारी, प्रशासक ध्रुव ब. खड्का लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
छलफलले देशमा देखिएका वर्तमान चुनौतीको सामना गर्न ज्ञान, सीप, प्रविधि, युवा शक्ति, निजी क्षेत्र र बौद्धिक समुदायबीच सहकार्य आवश्यक रहेको निष्कर्षसहित राष्ट्र निर्माणका लागि सामूहिक अभियानलाई थप प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण आधार तयार गरेको आयोजकको भनाइ छ ।
सो छलफल कार्यक्रम आयोजक संस्थाका अध्यक्ष प्रयत्न ढकालको अध्यक्षतामा र सचिब पुण्यप्रसाद ढकालको संचालनमा भएको थियो ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.