२० असोज २०८३, मङ्गलवार

१५औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यमा बलदेव तिमल्सिनाको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोकका युवा नेता बलदेव तिमल्सिनाले खुला तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

पार्टीलाई थप सुदृढ, प्रभावकारी र गतिशील बनाउँदै बदलिँदो राजनीतिक परिस्थितिअनुकूल अघि बढाउन तथा कांग्रेसमा युवा पुस्ताको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न आफूले उम्मेदवारी घोषणा गरेको तिमल्सिनाले बताउनुभएको छ।

देशको समृद्धि र जनताको अपेक्षालाई केन्द्रमा राख्दै कांग्रेसलाई थप जनमुखी र सक्रिय बनाउन आफूले केन्द्रीय तहबाट भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।

तिमल्सिनाले कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वमहामन्त्रीका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ। नेविसंघमा रहँदा संगठन निर्माण, विद्यार्थी आन्दोलन तथा पार्टीको युवा राजनीतिमा हासिल गरेको अनुभवलाई अब कांग्रेसको केन्द्रीय तहमा उपयोग गर्ने उहाँले बताउनुभएको छ।

१५औँ महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र विभिन्न पदमा आकांक्षी नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। खुला केन्द्रीय सदस्य पदमा पनि विभिन्न जिल्लाका नेताहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।

२९७ सदस्यीय हुने कांग्रेसको केन्द्रीय कार्यसमिति

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार पारित संशोधित विधानअनुसार पार्टीको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था गरिएको छ।

संशोधित विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक जना रहने व्यवस्था छ। उपसभापति र महामन्त्रीमा कम्तीमा एक–एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।

त्यस्तै, खुला केन्द्रीय सदस्य ४५, महिला केन्द्रीय सदस्य १५ र प्रदेशगत केन्द्रीय सदस्य २८ जना रहनेछन्। सातै प्रदेशबाट चार–चार जना प्रदेशगत सदस्य निर्वाचित हुनेछन्, जसमा प्रत्येक प्रदेशबाट कम्तीमा एक जना महिला रहने व्यवस्था गरिएको छ। काठमाडौं उपत्यकाबाट दुई जना केन्द्रीय सदस्य रहनेछन्, जसमा एक जना महिला अनिवार्य हुनेछिन्।

समावेशी प्रतिनिधित्वतर्फ दलितबाट १४, आदिवासी जनजातिबाट २०, खस आर्यबाट १८, मधेसीबाट १३, जनसम्पर्क समितिबाट सात, पिछडिएको वर्गबाट तीन, थारूबाट छ, श्रमिकबाट तीन, पेसागत विज्ञबाट सात र अपाङ्गता भएका व्यक्तिबाट एक जना केन्द्रीय सदस्य रहने व्यवस्था छ।

यसैगरी प्रजातन्त्र सेनानीबाट तीन जना तथा ३५ वर्षमुनिका युवाबाट २१ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सातै प्रदेशबाट हुने व्यवस्था छ।

संशोधित विधानअनुसार मनोनित केन्द्रीय सदस्य ६६ जना रहनेछन्। विभिन्न वर्ग, समुदाय, क्षेत्र, लिङ्ग र उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी तयार गरिएको संरचनाअनुसार कांग्रेसको आगामी केन्द्रीय कार्यसमिति २ सय ९७ सदस्यीय बन्नेछ।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.