२७ असोज २०८३, मङ्गलवार

प्रधानाध्यापकमाथि भएको हातपातको महिला शिक्षक समाजद्वारा भर्त्सना, दोषीलाई कारबाही गर्न माग

काठमाडौं / महिला शिक्षक समाजले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० स्थित बालउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद पण्डितमाथि विद्यालय परिसरमै भएको दुर्व्यवहार तथा हातपातको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ। समाजकी अध्यक्ष डा. जानुका नेपालले जारी गरेको विज्ञप्तिमा २०८३ असोज २२ गते विद्यालयमा कार्यरत रहेकै अवस्थामा प्रधानाध्यापक पण्डितमाथि भएको दुर्व्यवहार तथा हातपातको घटनाको भर्त्सना गरिएको हो । विज्ञप्तिमा उक्त घटनाले शिक्षकको आत्मसम्मान, पेसागत मर्यादा र विद्यालयको गरिमामाथि आघात पुर्‍याएको उल्लेख छ।

शिक्षा समाज रूपान्तरणको आधार र शिक्षक त्यसका संवाहक भएको उल्लेख गर्दै समाजले शिक्षकको सुरक्षा, सम्मान र पेसागत मर्यादामाथि हुने कुनै पनि प्रकारका आक्रमणले समग्र शैक्षिक वातावरणलाई प्रभावित पार्ने जनाएको छ। विद्यालयजस्तो ज्ञान र अनुशासनको केन्द्रमा शैक्षिक नेतृत्वमाथि हुने दुर्व्यवहारले शिक्षकको मनोबल कमजोर बनाउनुका साथै विद्यालयमा आपसी विश्वास, संवाद र सहकार्यको संस्कृतिमा समेत नकारात्मक असर पार्ने समाजको ठहर छ।

महिला शिक्षक समाजले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न तथा पीडितको सुरक्षा र पेसागत सम्मान सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, आगामी दिनमा शिक्षक तथा प्रधानाध्यापकमाथि यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षात्मक तथा संस्थागत व्यवस्था गर्न पनि समाजले आग्रह गरेको छ।

विद्यालय परिसरभित्र प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीले निर्भयतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न पाउने वातावरण निर्माण गर्नु राज्य, स्थानीय तह, अभिभावक र अन्य सरोकारवालाको साझा दायित्व भएको विज्ञप्तिमा उल्लेख छ।

शिक्षकको सम्मान र सुरक्षा सुनिश्चित गर्नु गुणस्तरीय शिक्षाको प्रत्याभूति भएको भन्दै समाजले विद्यालयलाई भयमुक्त, सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउन सबै पक्षलाई जिम्मेवार र संवेदनशील बन्न अपिल गरेको छ।

महिला शिक्षक समाजले शिक्षकको पेसागत सुरक्षा र सम्मानलाई शिक्षाको गुणस्तरसँग जोड्दै विद्यालयमा हिंसारहित वातावरण निर्माणका लागि सम्बन्धित निकायको प्रभावकारी पहल आवश्यक रहेकोमा जोड दिएको छ।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.