कृजल नेपाल, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकामा आगामी कात्तिक ९ गतेदेखि १२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। हेलम्बु गाउँपालिकाको आयोजना तथा ग्रेस ब्याप्टिस्ट चर्च (Grace Baptist Church), ताइवान र सामुदायिक सेवा प्रतिष्ठान नेपाल, भक्तपुरको प्राविधिक सहयोगमा हेलम्बु प्राथमिक अस्पतालमा शिविर सञ्चालन हुन लागेको हो।
गाउँपालिकाकाले जारी गरेको सूचना अनुसार शिविरमा दक्ष तथा अनुभवी स्वदेशी र विदेशी चिकित्सकबाट विभिन्न रोगको निःशुल्क परीक्षण तथा उपचार गरिनेछ। साथै, आवश्यकताअनुसार बिरामीलाई निःशुल्क औषधि वितरणसमेत गरिनेछ।
शिविरमा कात्तिक ९ गतेदेखि १२ गतेसम्म दाँत निकाल्ने तथा भर्ने, दाँत सफा गर्ने, गिजासम्बन्धी रोगको परीक्षण तथा उपचार, बालरोगसम्बन्धी विशेष सेवा र प्रयोगशाला सेवा उपलब्ध हुने गाउँपालिकाले जनाएको छ।
त्यसैगरी, कात्तिक १० र ११ गते महिलाहरूका लागि विशेष स्वास्थ्य सेवा सञ्चालन गरिनेछ। उक्त अवधिमा पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA Test), आङ खस्ने समस्याको परीक्षण तथा उपचार, स्त्रीरोगसम्बन्धी परीक्षण, थर्मोकोगुलेसन सेवा, पाठेघर तथा फिस्टुलाको शल्यक्रिया, रिङ प्रेसरी राख्ने तथा निकाल्ने सेवा र भिडियो एक्स-रे (USG) सेवा उपलब्ध गराइनेछ। यी सेवासँगै आवश्यक प्रयोगशाला परीक्षण र निःशुल्क औषधि वितरण पनि गरिनेछ।
गाउँपालिकाले शिविरमार्फत स्थानीय नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ। विशेषगरी दाँत, बालरोग तथा महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी समस्याको परीक्षण र उपचारबाट स्थानीय बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ।
शिविरमा हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सेवा उपलब्ध हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले शिविरमा सहभागी भई उपलब्ध निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन सम्पूर्ण गाउँपालिकाबासीमा अनुरोध गरेको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.