गिरफ्तार पत्रकारहरूको तत्काल रिहाइ, प्रेसमाथिको हस्तक्षेप अन्त्य र घटनाको निष्पक्ष छानबिन गर्न माग
काठमाडौं, १४ कात्तिक । अधिवक्ता अनन्त देव पराजुलीले सञ्चारमाध्यमका समाचार कक्षमा प्रहरी परिचालन, पत्रकारहरूको गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । उहाँले प्रेसमाथिको प्रहरी हस्तक्षेपलाई संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको सीधा प्रहार भएको टिप्पणी गर्नु भएको हो ।
प्रेस स्वतन्त्रताका पक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै पराजुलीले मिडियाका समाचार कक्षमा प्रहरी परिचालन गर्ने, पत्रकारहरूलाई गिरफ्तार गर्ने र समाचार स्रोतको गोपनीयतामाथि हस्तक्षेप गर्ने कार्य कुनै पनि लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य हुन नसक्ने बताउनु भएको छ ।
उहाँले सरकारलाई प्रश्न गर्दै मुलुकमा अघोषित संकटकाल लागू गरिएको हो वा संविधानका प्रावधानहरू निलम्बन गरिएका हुन् भन्ने आशंका व्यक्त गर्नु भएको छ । सरकारविरुद्ध उठ्ने आवाजलाई दबाएर शासन सञ्चालन गर्न खोज्नु निरंकुश प्रवृत्तिको संकेत भएको उहाँको भनाइ छ।
पराजुलीका अनुसार पत्रकारको स्रोतको गोपनीयता र प्रेस स्वतन्त्रता लोकतन्त्रका आधारभूत स्तम्भ हुन्। पत्रकारलाई समाचारको स्रोत खुलाउन बाध्य पार्ने, सञ्चारमाध्यमका समाचार कक्षमा प्रहरी प्रवेश गराउने तथा गिरफ्तारीमार्फत त्रास सिर्जना गर्ने गतिविधिले पत्रकारिताको स्वतन्त्रता मात्र नभई नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतालाई समेत कमजोर बनाउँछ।
'प्रहरीको बलमा समाचार रोक्न सकिएला, तर सत्यको आवाज दबाउन सकिँदैन,' पराजुलीले आफ्नो धारणामा उल्लेख गरेका छन्। गिरफ्तारीले प्रश्नहरू समाप्त नहुने बरु सरकार र सत्तामाथि थप प्रश्न खडा हुने उहांको तर्क छ।
उहाँले सरकारको यस प्रकारको हस्तक्षेपलाई असंवैधानिक र अलोकतान्त्रिक संज्ञा दिँदै गिरफ्तार गरिएका पत्रकारहरूलाई तत्काल रिहा गर्न माग गर्नु भएको छ । साथै प्रेसमाथिको प्रहरी हस्तक्षेप तत्काल अन्त्य गरी घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग आग्रह गर्नु भएको छ ।
लोकतान्त्रिक व्यवस्थामा सरकार जनताप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै पराजुलीले प्रेस सरकारसँग भयभीत भएर होइन, स्वतन्त्र र निर्भीक रूपमा जनताको पक्षमा उभिनुपर्ने बताउनु भएको छ । उहाँले प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाउँदै निरंकुश प्रवृत्तिको विरोध गर्नु भएको हो ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.